काठमाडौँ । कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरुद्ध हुने भएको छ। कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध गर्न लागिएको हो।
कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध हुने भएको छ।
सडक डिभिजन कार्यालय जुम्लाको पत्रअनुसार घट्टेखोलामा बनेको पक्की पुल भार क्षमता जाँच गर्नका लागि भदौ ७ गते मङ्गलबार बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द हुनेछ।
सडक डिभिजन कार्यालय, जुम्लाले अनिवार्य पुलको टेष्टिङ गर्नुपर्ने भनेकाले कर्णाली राजमार्ग अवरुद्ध हुने भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए।
राजमार्गको दुवैतर्फको आवातजावत बन्द रहने र यात्रु सवारी साधनलाई आवातजावतका लागि त्यहीअनुसार व्यवस्थापन गर्न आदेश गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए।