बागलुङ । सँगै सुतेका श्रीमानले अर्कै महिलासँग फोनमा कुरा गरेको भेटेपछि श्रीमतीले आफ्नै पतिको हत्या गरेकी छन् । बागलुङको निसीखोला ५ कामी डाँडाकी २३ वर्षीया कुमारी कामीले २५ वर्षीय पति गुनबहादुर विकको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छन् ।
गत साउन २५ गते राति उनले पतिको टाउको छिनाएर निसीखोलामा बगाएको घटना सार्वजनिक भएको हो । साउन २५ गते हत्या गरेर फाले पनि भदौ १ गते टाउको बिनाको शव खोलामा भेटिएको थियो । शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा पत्नी कुमारी र उनकी बहिनी १८ वर्षीया मनिषालाई पक्राउ गरेको छ । घटनाको १० दिनपछि मात्रै प्रहरीले कुमारीलाई पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीका अनुसार मृतकको टाउको अझै भेटिएको छैन । घटनामा मृतककी साली मनिषाले पनि साथ दिएको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि ज्ञवालीसहित अन्य चार जना प्रहरी अधिकृत खटिएका थिए । घटनास्थल पत्ता लगाउन पनि प्रहरीलाई हम्मे परेको थियो ।
हत्यापछि बहिनीसँगै मिलेर घर सफाइ गरेको, रगत लागेको सबै स्थानमा लिपपोत गरेको देखिएको उनले बताए ।घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी र घन समेत बरामद गरेको जनाएको छ ।
आइतबार प्रहरीले अभियुक्तलाई सार्वजनिक समेत गरेको छ । विवाह भएको ६ वर्षमा गुनबहादुरले धेरै महिलासँग फोन र म्याजेज गर्ने र पत्नीलाई चिढ्याउने गरी भ्वाइस म्यासेज पठाएको भेटिएको प्रहरीको अनुमान छ ।
शनिबार पक्राउ परेकी कुमारीलाई प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरेको बताएको छ । तुलबहादुर र कुमारीको २०७३ सालमा विवाह भएको थियो। उनीहरुको दुई वर्षको छोरी पनि छिन्।