काठमाडौँ । नागरिकतामा अपमानजनक नाम भएका दैलेखका दुई जना व्यक्तिको नागरिकताको प्रमाणपत्रमा नाम सच्चिएको छ ।
नेपाली नागरिकताको प्रमाणपत्रमा ‘कुकूर कामी’ लेखिएका कविराम कामी र ‘ठगे कामी’ लेखिएका कर्णबहादुर विकको नाम सच्चिएको हो । साविक मेहेलतोली गाविस–६ अहिले भगवतीमाई गाउँपालिका ३ का कविराम र साविक कट्टी गाविस ६ अहिले भगवतीमाई गाउँपालिका ५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो ।
आइतवार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रमाणपत्र जारी गरेको हो ।गएको साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो ।
गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।
कविरामजस्तै नेपाली नागरिकतामा ठगे कामी लेखिएका साविक कट्टी गाविस ६ अहिले भगवतीमाई गाउँपालिका ५ का कर्णबहादुरले पनि नागरिताको महलमा कर्णबहादुर विक लेखिएको नयाँ नागरिकताको प्रतिलिपि पाएका छन्। नामकै कारण अपमानित हुनुपरेका कर्णबहादुरले साउन २९ गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए
आवश्यक प्रक्रिया पुर्याएर कविराम कामी र कर्णबहादुर विकको नयाँ नागरिकताको प्रमाणपत्र जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । उनले नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गरे ।