काठमाडौं। कांग्रेस नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्येष्टि गरिएको छ।
उनको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्येष्टि गरिएको हो।
गिरिलाई उनका छोरा सन्तोष र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिए।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए।
अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरिको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो।
विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते अस्पताल भर्ना गरिएको थियो।
उनको शवलाई आइतबार बिहान ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा र त्यसपछि दिउँसो साढे २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका राखिएको थियो।
उनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, सभामुख, मन्त्रीदेखि विभिन्न पार्टीका नेताहरू तथा कार्यकर्ता र शुभचिन्तकहरुको भीड लागेको थियो।
सानेपाबाट अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिनेछ।
को हुन् गिरी ?
पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो। समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए।
नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय भएका थिए। हाल प्रतिनिधिसभा सदस्य रहेका उनी २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए।
उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए।
यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए। नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका थिए।