दाङ । दाङमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ भैंसाही नाका निवासी ७ वर्षीया सम्झना परियारको झाडापखालाका कारण मृत्यु भएकोस्वास्थ्य शाखा संयोजक कमलबहादुर रोकायाले जानकारी दिए ।
त्यस्तै १७ जना बिरामी परेका छन् । झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरिरहेको उनले जानकारी दिए । बिहीबार दिउँसोदेखि झाडापखाला फैलिएको र त्यसैदिन बालिकाको ज्यान गएको उनले बताए ।
जानकारी पाउनासाथ रातारात स्वास्थ्यकर्मीको टोली नाका क्षेत्रमा पठाएर अहिलेसम्म पनि उपचार गरिरहेको रोकायाले बताए ।अहिले झाडापखाला नियन्त्रणमा आइरहेको उनले बताए । नाका क्षेत्रमा फोन सम्पर्क नहुने र भारतको बाटो जानुपर्ने भएकाले उपचारमा समस्या रहेको उनले बताए । स्थानीय भैंसाही खोलाको दूषित पानी खाँदा झाडापखाला फैलिएको रोकायाले बताए ।