काठमाडौँ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौं दशैं जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतवारदेखि हुने भएको छ ।
स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।
मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागेको जानकारी दिए ।
मेलाले एकअर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ ।
एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले कोरोना महामारीका कारण धरासायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका १ हजार मोडलका जुत्ता पाउन सकिने बताइएको छ । मेला १५ दिनसम्म चल्नेछ ।