काठमाडौं। पदाधिकारीको नाम टुंगो लगाउने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ।
बैकठले पदाधिकारीको नाम टुंगो लगाउन नसेकेको माओवादीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
उनले शनिबार दिउँसो १ बजे पुनः स्थायी समिति बैठक बस्ने जानकारी दिए।
पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ।
बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति छ। महासचिवको चयनलाई लिएर पार्टीभित्र सङ्घर्ष बढेको नेताहरुको भनाइ छ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने बताइएको थियो।
गत पुसमा आठौँ महाधिवशेन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन । केही दिनअघि बसेको बैठकले ४१ सदस्यीय स्थायी समिति, एकसय २५ सदस्यीय पोलिटब्यूरो र तीनसय ७५ सदस्यीय केन्द्रीय समितिको टुङ्गो लगाएको थियो।