जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको निर्वाचन प्रणालीमा सुधार नल्याएको खण्डमा राजनीतिलाई शुद्ध बनाउन कठिन भएको बताएका छन् ।
समाजवादी युवा सङ्घ नेपालको राष्ट्रिय युवा भेलाको आज जनकपुरधाममा उद्घाटन गर्दै उनले निर्वाचन प्रणाली महँगो भएका कारणले राम्रा तथा सक्षम व्यक्ति भए पनि रकमको अभावले चुनाव जित्न कठिन हुने बताए ।
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा मुलुक नगएसम्म निर्वाचन जित्नका लागि हुने गरेको करोडौँको खर्च रोक्न कठिन हुने र यसले सुशासन स्थापना गर्न नसकिने बताए ।
देशमा परिवर्तनका लागि शिक्षा प्रणालीमा आमूल सुधारको आवश्यक भएको बताउँदै शिक्षित तथा दक्ष युवा शक्तिको निर्माणका लागि अहिलेको शिक्षा प्रणाली बाधक भएको उनको भनाई थियो ।
यस्तै उनले अहिलेको सङ्घीयता अधुरो रहेको बताउँदै अधिकार तथा साधन श्रोत केन्द्रमा राख्ने र प्रदेशले काम नगरेको भन्दै बदनाम गर्ने काम मात्र भएको र यो भन्नेहरू सङ्घीयता नचाहनेहरू नै भएको दाबी गरे।प्रहरीको शीघ्र समायोजन तथा सङ्घीय निजामती ऐन तत्काल संसदवाट पारित गरेर प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन आवश्यक भएको बताए।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अधिकार विनाको सङ्घीयताले प्रदेशको विकास कठिन भएको बताउँदै यथाशीघ्र रुपमा प्रहरीको समायोजन गर्न तथा सङ्घीय निजामती ऐन ल्याउनका लागि सङ्घीय सरकारसँग माग गरे ।