काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एउटै घोषणा पत्र र एउटै चुनाव चिह्न प्रयोग गरेर जाने सहमति भएको छ ।
केही दिनदेखि जारी छलफल आइतबार जारी थियो । आइतबारको छलफल मौखिक समझदारीमा पुगिसकेको र सोमबारसम्म लिखित समझदारी बनाइने नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
केही दिनदेखि जारी छलफलमा मौखिक रुपमा एउटै घोषणापत्र र एउटै चुनाव चिह्न प्रयोग गर्ने बारे सहमति भएको पाण्डेले बताए । आइतबार पनि माओवादी अध्यक्ष पुप्षकमल दाहालको निवासमा भट्टराई र समाजवादीका अर्का अध्यक्ष महेन्द्रराय यादवसहितका नेताहरुले छलफल गरेका थिए । एउटै चुनाव चिह्न माओवादीले प्रयोग गर्दै आएको गोलाकारभित्रको हँसिया हथौडा हुनेछ ।
सहमतिबारे दुवै दलले आ-आफ्नो दलमा छलफल गर्ने र औपचारिकता दिनेछन् । त्यसपछि उनीहरु निर्वाचन आयोगमा दल दर्ताका लागि जानेछन् ।
निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ । मंसिर ४ मा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुँदैछ ।