धनगढी । सुदूरपश्चिम प्रदेशमा दुई हजार जना मानिस अटाउने होल्डिङ सेन्टर तयार भएपनि सञ्चालनबारे अन्योल बढपछि सञ्चालनमा आउन सकेका छैनन् । कैलाली र कञ्चनपुरमा एक एक हजार जना हटायने होल्डिङ सेन्टर तयार भएपनि सञ्चालनमा भने अन्योलता कायम भएको छ ।
धनगढी उपमहानगरपालिका–३ बडहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ को सालघारीमा एक÷एक हजार जना अटाउने होल्डिङ सेन्टर तयार भएको निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका साइड इन्जिनियर बिक्रम गैरेले जानकारी दिए ।
भारत संग जोडिएको सुदूरपश्चिममा कोरोना महामारीको समयमा भारतबाट फर्किएका शंकास्पद संक्रमितलाई राख्न होल्डिङ सेन्टर बनाउन सुरु गरिएको थियो ।धनगढीमा २८ करोड ८१ लाख रुपैयाँको लागतमा विभिन्न ५९ वटा संरचना निर्माण गरिएको छ ।
जसमा ५०/५० जना अटाउने क्षमता भएका २२ वटा क्वारेन्टिन ब्लक, दुई वटा प्रशासनिक भवन, १२ वटा डाइनिङ हल, तीन वटा भान्छा र २२ वटा शौचालय निर्माण गरिएका छन् ।कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि धनगढीमा बनेकै जति भौतिक संरचना निर्माण भएका छन् ।
ती संरचना निर्माणका लागि हनुमान कन्सट्रक्सनले नै २९ करोड २४ लाखमा ठेक्का पाएको थियो । हनुमान कन्सट्रक्सनले दुवै जिल्लामा एक÷एक हजार जना अटाउने होल्डिङ सेन्टर ५८ करोड पाँच लाख रुपैयाँ बराबरको बजेटमा निर्माणको काम सम्पन्न गरेको छ ।
६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी ३ असार २०७८ मा होल्डिङ सेन्टर निर्माणका लागि सम्झौता गरिएको थियो तर निर्धारित समयमा काम नसकिएपछि निर्माण व्यवसायीको आग्रहमा म्याद थप गरिएको थियो ।नेपाल सरकारले नेपाली सेनाको जिम्मा दिएर निर्माण गरेका होल्डिङ सेन्टर सञ्चालनबारे अन्योल छ ।
देवीदल गण तेघरी ब्यारेकका गणपति प्रमुख सेनानी सुनिलकुमार मल्लले होल्डिङ सेन्टरका भौतिक संरचनाको गुणस्तर परीक्षण गरेर बुझ्ने प्रक्रियामा रहेको बताए । तर सञ्चालन मोडालिटीको विषयमा माथिल्लो निकायबाट कुनै निर्देशन नआएको उनले जानकारी दिए ।
सो होल्डिङ सेन्टरलाई सामुदायिक अस्पताल बनाउनका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले माग गरेको छ । यसका लागि प्रस्ताव भए पनि ठोस निर्णय भने भएको छैन ।
अहिले फेरि कोभिड सङ्क्रमण बढेको छ । तर, सङ्क्रमित व्यवस्थापनका लागि निर्माण गरिएको होल्डिङ सेन्टरमा भने ताल्चा लागेको छ । आवश्यक परेको बेलामा कोभिड सङ्क्रमितलाई त्यसैमा व्यवस्थापन गरिने सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी गणेशबहादुर सिंहले बताए ।
हस्तान्तरण नभएपछि होल्डिङ सेन्टरलाई होल्डिङ सेन्टरकै रुपमा प्रयोग गर्ने वा के बनाउने भन्ने नै निश्चित भएको छैन । होल्डिङ सेन्टर हस्तान्तरण नै नभएपछि अहिले त्यसको रेखदेख नेपाली सेनाले गरिरहेको छ । त्यसको सुरक्षाका लागि केही सङ्ख्यामा नेपाली सेना खटेका छन् ।