काठमाडौँ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठक सम्पन्न भएको छ।
उक्त बैठकमा जापान ५ हजारभन्दा बढी नेपाली कामदार लैजान तयार भएको जनाएको छ। बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने विषयमा बृहत छलफल गरेको थियो।
बैठकले विषेशगरी चारवटा विषयमा छलफल गरेको छ। त्यसमा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने, जापानको (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नेुपर्ने कार्यविधि बनाउने बारे छलफल भएको थियो।
यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जापानका सहायक उपमन्त्री चोतुमो नाकागावासँग भेटवार्ता गरेका छन्। बैठकपछि मन्त्रालयमा भएको भेटमा नेपाली भाषा परीक्षा पास भएका र सीप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाका विषयमा छलफल भएको छ।
मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरु जापान जानको लागि तयारी अवस्थामा रहेको जानकारी गराएका थिए। उपमन्त्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुरोध गरेका थिए। साथै उनले दुई देशबीचको समस्यालाई सामाधान गरी मित्रवत सम्बन्ध स्थापित गर्नुपर्ने बताएका थिए।