बीरगंज। गर्भवती महिलाको हत्या आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हत्या गरिएकी २२ वर्षीया गर्भवती प्रतिमा यादवका श्रीमान बीरगंज महानगरपालिकाको वडा नं २३ इटीयाहीबाट २५ वर्षिय दिनेश यादव र दिनेशका दाजु २८ वर्षिय ओम प्रकाश यादव रहेका छन्।्
शुक्रबार बिहानको २ बजे श्रीमतीको घाँटी थिचेर हत्या गरेको दिनेशले प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रहलाद कार्कीले जानकारी दिए।
२०७८ बैशाख ३१ गते बिवाह बन्धनमा बाँधिएका उनीहरुको बैवाहिक जीवन उतार चढावपूर्ण रहेको थियो। चार दिन अगाडि मात्र प्रतिमालाई ससुराले माइतबाट घर ल्याएका थिए। घरमा राम्रोसंग राख्ने, पालपोषण राम्रो गर्ने कुटपीट नगर्ने वाचा गरेर ल्याइएकी प्रतिमाको चार दिनको दिनमा हत्या भयो।
उनको पेटमा ६ महिनाको गर्भ रहेको डिएसपी कार्कीले जानकारी दिए। मृतकका बुवा रामनरेश राउत अहिरले आजै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन्।
प्रहरी समक्ष हत्या गरेको यादवले स्वीकार गरे पनि घटनाको बिषयमा थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।
मृतकको शव पोस्टमार्टमको लागि नारायणी अस्पताल बीरगंजमा पठाइएको छ।