काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताएका छन् ।
चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै उनले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण केही समयदेखि नेपालको तर्फबाट चीनतर्फ उच्चस्तरमा द्विपक्षीय भ्रमण हुन नसकिरहेका अवस्थामा यो भ्रमण महत्वपूर्ण रहेको बताए ।
उनले यस किसिमको भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने कुरामा आफू विश्वस्त रहेको बताए । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनि यही साउन २४ देखि २६ गतेसम्म चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका हुन् ।