काठमाडौँ । पछिल्लो ३ महिनाको अवधिमा देशभर साइबर अपराध बढेको छ । आर्थिक वर्ष २०७७-०७८ मा वैशाख, जेठ र असारमा भएका घटना तुलना गर्दा यसवर्ष सो अपराध बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले गत वैशाखको भन्दा २०७९ वैशाखमा साइबर अपराध १७५ प्रतिशतले बृद्धि भएको जानकारी दिए ।
जेठमा ३६ प्रतिशत र असारमा ५५ प्रतिशतले साइबर अपराध बढेको छ । २०७९ वैशाख यताको ३ महिनामा देशभर १३ हजार १२७ वटा मुद्दा दर्ता भएको छ । अपराधमा संलग्न ९ हजार ४७० जना पक्राउ परेका छन् ।
सो अवधिमा अपराधमा संलग्न ३ हजार ६५२ जना आरोपी फरार रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।अपराधमा संलग्नहरुको तथ्यांक इन्ट्री गर्ने प्रहरी युनिटहरू पनि बढेका छन् । देशभरका १३७ ठाउँबाट सीआरएस (क्राइम रेकर्ड सिस्टम) मा तथ्याङ्क इन्ट्री गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।