भोजपुर। भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौंमा एक दिने शिविर सञ्चालन गरेर आफ्ना नागरिकलाई सेवा प्रदान गरेको छ।
भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातायात सञ्चालनमा कठिनाइ भएपछि गाउँपालिकाले काठमाडौंमा नै आफ्ना नागरिकलाई सेवा दिएको हो।
काम विशेषले काठमाडौं पुगेका तथा विभिन्न कारण बस सेवाबाट वञ्चित भएका ज्येष्ठ नागरिक तथा असक्त नागरिकलाई ध्यानमा राख्दै सेवा प्रवाह गरिएको साल्पासिलिछोका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए।
उनले भने, ‘जनप्रतिनिधिले जनताको सेवाको लागि काम गर्ने हो। हाम्रो गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले सेवा लिन आउन निकै कठिन छ।’
जोरपाटीमा सञ्चालन भएको शिविरमा काठमाडौंमा रहेका करिब एक सय ५० जनाले विभिन्न किसिमका सेवा लिए।
स्थानीयवासीबाट माग भएकाले धरान विराटनगर, इटहरी झापालगायत ठाउँका नागरिकलाई लक्षित गरेर पनि यस्तो शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए।
विभिन्न संघीय मन्त्रालयको कामको लागि काठमाडौं पुगेको अवसरमा त्यहाँको काम सकेर एक दिने कार्यक्रममार्फत सेवा प्रवाह गरेको उनको भनाइ छ।
बर्सात लागेसँगै भोजपुर सदरमुकामबाट यो गाउँपालिकासँगको यातायात सेवा बन्द हुन्छ। रासस