बारा। बारा प्रहरीले १५० भन्दा बढी मोटरसाइकल चोरी गरी बिक्री गर्ने समुहकै नाइके वृजमोहन साह सोनारलाई पक्राउ गरेको छ। प्रहरीले उनीसहित ६ जनालाई पक्राउ गरेको छ।
बाराको पचरौता नगरपालिका–७ बेनौली टोलबाट प्रहरीले १२ वटा मोटरसाइकलसहित उनीहरुलाई प्रहरीले गरी सार्वजनिक गरेको छ। नाइके साहले १५० वटा मोटरसाइकल चोरी गरी बिक्रीसमेत गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।
साउन १९ गते महागढीमाई नगरपालिकाबाट दुई वटा मोटरसाइकल चोरी गरी भाग्ने क्रममा पचरौता नगरपालिकाका–७ का २१ वर्षीय विशाल कुमार सहनी र २० वर्षीय भोला पटेललाई प्रहरीले तत्काल पक्राउ गरेपछि चोर समुहलाई हात पार्न सफल भएको उनले बताए।
पक्राउ परेका ४ जनाबाट १० वटा चोरीको मोटरसाइकल बरामद गरिएको छ। मोटरसाइकल चोरीमा पचरौता नगरपालिका–७ बनौलीका २० वर्षीय वृजमोहन साह सोनार, २० वर्षीय विजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। उनीहरुमाथि चोरी मुद्दाको कसुरमा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गर्ने क्रममा थप चार जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरुबाट यामाहा, बजाज पल्सर, बजाज पलाटीना लगायतका १२ वटा चोरीको मोटरसाइकल बरामद गरिएको छ। गिरोहका नाइके वृजमोहन साह सोनार हुन्। उनले एक्लै डेढ सय बढी मोटरसाइकल चोरी गरेको बयानको क्रममा स्वीकार गरेका छन्।