काठमाडौँ । चीनको हेनान र साङ्दोङ प्रान्तमा नोवल लाङ्ग्या हेनिपाभाइरस (लेभी) बाट ३५ जना सङ्क्रमित भइसकेका बताइएको।
सङ्क्रमित धेरैलाई ज्वरो, थकान र खोकीजस्ता लक्षण देखिएको छ।यो भाइरस जनावरबाट मानिसमा सरेको ठानिएको छ। तर लाङ्ग्या भाइरस मानिसबाट मानिसमा सर्ने कुरा पुष्टि भइसकेको छैन।
अनुसन्धानकर्ताहरूले यो भाइरस छुचुन्द्रो प्रजातिको एक जनावरमा रहने गरेको पत्ता लगाएका छन्।चीन, सिङ्गापुर र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा यसै महिना प्रकाशित गरेको लेखमा यो अन्वेषणबारे चर्चा गरिएको छ।
अनुसन्धानकर्तामध्येका एक सिङ्गापुरको ड्युक-एनयूएस मेडिकल स्कुलका वाङ लिन्फाले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग यो भाइरस घातक वा गम्भीर नभएको र यसबाट आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्।
यद्यपि प्रकृतिमा रहने कतिपय भाइरसले मानवलाई सङ्क्रमित गरेपछि अकल्पनीय परिणाम आउने गरेको भन्दै वाङले यसबाट सजग रहनुपर्ने बताएका छन्।
वैज्ञानिकहरूले परीक्षण गरेकामध्ये २७ प्रतिशत श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावरमा यो भाइरस पाइएको थियो।परीक्षणबाट यो जनावर यस्तो भाइरसको प्राकृतिक भण्डार रहेको देखिएको थियो। परीक्षण गरिएकामध्ये पाँच प्रतिशत कुकुर र दुई प्रतिशत बाख्रामा पनि यो भाइरस पाइएको थियो।