काठमाडौँ । प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्नका लागि तयार रहन रक्षा मन्त्रालय र नेपालीसेनालाई निर्देशन दिएका छन् ।
रक्षा मन्त्रालयको आर्थिक बर्ष २०७८/७९ को चौमाषीक समिक्षा तथा वार्षिक प्रगति समिक्षा बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचनको आवश्यक तयारी पूरा गर्न निर्देशन दिएका हुन् । उनले नेपाली सेनाले मुलुकको सुरक्षा, विकास निर्माण एवं विपद् व्यवस्थापनमा पुर्याएको योगदानको प्रशंसा गरे।
प्रधानमन्त्री देउवाले सेनालाइ साधन श्रोत सहित आधुनिक र थप व्यावसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताए ।
प्रधानमन्त्री देउवाले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनता रक्षाको लागि राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा नीति कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताए । नेपाली सेना अन्तर्गत निर्माण भैरहेका राष्ट्रिय गौरवको आयोजनाका काम यथाशीघ्र सम्पन्न गर्नका लागि प्रभावकारी समन्वय गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए ।