काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले ‘तथ्याङ्क विधेयक, २०७८’ बहुमतले पारित गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रियसभाको सन्देश सहितको सो विधेयक आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरका थिए।
गृहमन्त्री बालकृष्ण खाडले ऐनलाई समय सान्दर्भिक बनाउन र तथ्याङ्कसम्बन्धी आवश्यकता पूरा गर्न विधेयक अघि बढाइएको बताए। तथ्याङ्क सङ्कलन गर्नु सरकारको दायित्व रहेको र देशभरका हरेक विषयको तथ्याङ्क सङ्कलन र उपयोग गर्न पनि यसले सहयोग गर्ने उनको भनाइ छ।
सरकारले नागरिकले खोजी गरेको विवरण उपलब्ध गराउनुपर्ने उनले बताए। तथ्याङ्कको विद्युतीय अभिलेख राखिनुपर्ने अहिलेको आवश्यकता भएको पनि उनको भनाइ छ।
तथ्याङ्क विभागको कार्यालय ३३ जिल्लामा रहेको र ७७ जिल्ला हेर्नुपर्ने हुँदा सबै जिल्लामा कार्यालय विस्तार गर्ने र कर्मचारीको क्षमता अभिवृद्धि गराउन आवश्यक हुने उनले औँल्याए।