दैलेख । नेपाली नागरिकतामा 'कुकुर कामी' नाम उल्लेख गरिएका कविराम कामीले नाम सच्याउन माग गर्दै निवेदन दिएका छन्। भगवतीमाई गाउँपालिका-३ मेहेलतोलीका ६२ वर्षीय कविरामले मंगलबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।
प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर दिएको निवेदनमा उनले कविराम कामी उल्लेख गरी नागरिकताको प्रतिलिपि दिन आग्रह गरेका छन्।
उनले दिएको निवेदनमा भनिएको छ 'मलाई गाउँमा चिनाउने र चिन्ने नाम कविराम कामी भएको तर २०४६ मा गाउँमा खटिएको नागरिकता टोलीबाट नागरिकता लिँदा गाउँका मानिसहरूले जिस्क्याएर भन्ने गरेको नाम 'कुकूर कामी'राखेर प्रधानपञ्चले सिफारिस लेखेको आधारमा कुकुर कामी नै लेखी नागरिकता दिएकोमा मलाई यो नामले हिनताबोध र अपमान भइरहेको छ।'
कविरामले वडा कार्यालयको सिफारिस, आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर निवेदन दिएका हुन्। २०४६ जेठ ७ गते गाउँमा पुगेको नागरिकता टोलीले 'कुकूर कामी' नाम राखेर उनलाई नेपाली नागरिकता थमाएको थियो।