काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
दक्षिण एशियाली देशहरुमा रहेका नदी तथा समुद्रलाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन दक्षिण एशिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष बृहत् कार्यशालामा मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफू लागिपरेको बताए ।
“प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन,” उनले भने ।
सोही कार्यक्रममा मन्त्री यादवले ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिकको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्न आफूले निर्देशन दिएको जानकारी गराए ।नेपाललाई प्लाष्टिक प्रदूषणमुक्त बनाउन आफू प्रतिबद्ध रहेको र आफू मन्त्री नियुक्त भएपश्चात् छोटो समयमै धेरै कामको सुरुआत भएको मन्त्री यादवले जिकिर गरे ।
यसैगरी मन्त्री यादवले आगामी भदौ १ गतेदेखि प्लाष्टिक प्रदूषणमुक्त बनाउन थप काम हुन गइरहेको बताए । यस्तै वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण काम भइरहेको उनको भनाइ थियो ।