धनगढी । कैलालीका एक जनाको स्मार्ट लाइसेन्समा यातायात व्यवस्था कार्यालय धनगढीले चरम लापरबाही गरेको पाइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने श्याम कुमार महराको स्मार्ट लाइसेन्समा कार्यालयले चरम लापरबाही गरेको पाइएको हो ।
महराले २०५१ साल ११ महिना १६ गते स्मार्ट लाइसेन्स निकालेका थिए । २३ मार्च २०२१ मा रिन्युको लागि आवेदन दिएका थिए । आज उनले नयाँ लाइसेन्स लिँदा उनको जन्म मिति, ब्लड ग्रुप, ठेगाना गलत भएर आएको छ ।
यति सम्मकी अहिले महरालाई २४ वर्षको उमेर बनाइदिएको छ । जबकि महरा अहिले ५१ वर्षका भए । महराको जन्म मिति २०२८ साल ८ महिना १ अर्थात् १९७१ नोभेम्बर १७ हुनुपर्नेमा गलत जन्म मिति राखिदिएको पाइएको हो । अझ रोचक कुरा के छ भने महरालाई दिएको स्मार्ट लाइसेन्समा उनको जन्म मिति र जारी गरेको मिति हेर्ने हो भने महराले ६ वर्षको उमेरमै लाइसेन्स पाएको देखिन्छ ।
अहिले रिन्यु गरेको नयाँ स्मार्ट लाइसेन्समा उनको जन्म मिति १९८९/१२/३१ राखिदिएको छ । यस्तै उनकै ब्लड ग्रुप 'बी' पोजेटिभ हो तर लाइसेन्समा 'ए' पोजेटिभ भनेर राखिएको छ । उनको स्थायी ठेगाना धनगढी उपमहानगरपालिका ५ रहेकोमा ४ राखेको छ । उनको नागरिकता नम्बर पनि अपुरो राखेको पाइएको छ ।
स्मार्टलाइसेन्स पाँच/पाँच वर्षमा रिन्यु गर्नुपर्ने व्यवस्था छ । तर महरालाई दिएको स्मार्ट लाइसेन्समा ३१ वर्षसम्म रिन्यु गर्न नपर्ने मिति उल्लेख छ । स्मार्ट लाइसेन्सको जारी मिति १९९५/०३/०१ देखि २०२६/०२/२५ गते सम्म रिन्यु नगर्नुपर्ने यसले देखाएको छ।
नेपालमा जति प्रविधिको विकास भइरहेको छ त्यति सरकारी निकायबाट गैर जिम्मेवारी किसिमको काम भइरहेको महराले बताए ।