काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं-२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा स्तरोन्नति गरिएको छ ।
महानगर २० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा स्तरोन्नति गरिएको सो शौचालय अपाङ्ग, वातावरण तथा महिला मैत्री छन् । पुनः निर्माण गरिएको सो शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सेवा सुविधा राखिएका छन् । कामपा–२० का वडाध्यक्ष राजेन्द्र मानन्धरले शनिबार नवनिर्मित शौचालयको शुभारम्भ गरे ।
कामपाका प्रमुख बालेन्द्र शाहले सो सार्वजनिक शौचालयको अवलोकन गर्दै शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिका बारेमा विशेष चासो राखे । उनले भने,‘सार्वजानिक शौचालय हुनु त यस्तो व्यवस्थित महानगरपालिकाभित्र थप यस्ता शौचालय बनाउनुपर्छ । यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’
शौचालयमा प्रयोग भएको आकासेपानी सङ्कलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिँदै शौचालयलाई सिकाइ केन्द्रका रुपमा विकास गर्न सकिने सुझाव दिए ।
सन् २०२० देखि काठमाडौँ र ललितपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरुमा स्वच्छ, महिला, अपाङ्ग तथा वातावरणमैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालय बनाउन एरोसान सस्टेनेबल स्यानिटेसनले आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ । एरोसानद्वारा निर्मित तथा सञ्चालित शौचालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवद्र्धन पुरस्कार २०७८ जित्न सफल भएको थियो भने विश्वस्तरीय सरफाती सेनिटेसन प्रतियोगितामा उत्कृष्ट पाँचसम्म पुग्न सफल भएको थियो ।
सो अवसरमा वडाध्यक्ष मानन्धरले वडाको विकास र समृद्धिका लागि आवश्यक कार्य गर्दै आएको जानकारी दिँदै यसै क्रममा २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनः निर्माण गरिएको बताए ।
एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौं महानगरपालिकामा चार र ललितपुर महानगरपालिकामा दुई अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ । यस बीचमा करिब पाँच लाख ९१ हजार दुई सय ६९ परुष र एक लाख ८० हजार पाँच सय ३६ महिला प्रयोगकर्ताहरुलाई सार्वजनिक शौचालयको सुविधा प्रदान गर्न सफल भएको एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिए ।
शौचालयबाट उत्सर्जित दिसापिसाबजन्य फोहर व्यवस्थापनका लागि बायो ग्यास प्रविधिको जडान गरी हालसम्म ७० हजार ६ सय ९९ लिटर पिसाब र नौ हजार पाँच सय ७९ किलो दिसा व्यवस्थापन गरी ७०५.२ लि. बायो ग्यास अर्थात् ४९.४ सिलिन्डर एलपिजी ग्यास उत्पादन गरिसकेको छ भने फोहर पानी प्रशोधन प्रणालीमार्फत तीन लाख ६० हजार लिटर फोहर पानी प्रशोधन र आकासेपानी सङ्कलन प्रविधिको प्रयोगबाट २७ लाख ४० हजार एक सय ६० लिटर आकासपानीको सङ्कलन गरेर शौचालयमा प्रयोग गरिएको छ ।
कार्यक्रममा महानगरका का प्रवक्ता नवीन मानन्धर, वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल साथै वातावरण विभाग प्रमुख सरिता राईको सहभागिता थियो ।