सप्तरी । सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो ।
आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी नदीको चतरामा जलसतह बढ्दो छ । यस्तै तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ ।