काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा ९ दिने लामो अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएका छन्। साउन १२ गते त्यसतर्फ लागेका उनी शुक्रबार स्वदेश फर्किएका हुन्।
अस्ट्रेलियाको सिड्नीमा अयोजित कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को निर्णयबाट प्रधानसेनापति शर्मा भ्रमणमा निस्किएका थिए।
स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापति शर्मालाई बलाधिकृत रथि बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
प्रधानसेनापति शर्माको सम्मानमा आइतबार जंगी अड्डामा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ।
प्रधानसेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरूमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएको नेपाली सेनाले जनाएको छ।
उनी स्वदेश फर्किएपछि नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरूका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कुटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।’