काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान जापानको टोकियो पुगेका छन् । पाँच दिने जापान भ्रमणका सिलसिलामा प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गरेका थिए ।
प्रचण्डलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी पुगेका थिए । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्ड त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ ।
प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्नेछन् ।
यस्तै आइतबार नै प्रचण्ड नेपाली जनप्रगतिशील मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।