काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का साउन २४ गते चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ समकक्षीको निमन्त्रणमा खड्का तीन दिन चीन भ्रमण जाने र त्यहाँ उच्च राजनीतिक भेटघाट गर्नेछन्।
चीन र नेपालका परराष्ट्रमन्त्रीबीच साउन २५ गते दुई देशको सम्बन्धका विषयमा भेटवार्ता हुनेछ। मन्त्री खड्काको भ्रमणका बारेमा एजेन्डा तयार भइनसकेको भन्दै प्रवक्ता लम्सालले भ्रमणका क्रममा नेपाल र चीन सम्बन्धका यावत् पक्षका विषयमा स्वाभाविक रूपमा छलफल हुने जानकारी दिइन्।
भ्रमणका एजेन्डा तत्कालै सार्वजनिक गर्दा परिपक्व नहुने तर्क गरेकी प्रवक्ता लम्सालले परराष्ट्रले मन्त्री खड्कालाई गत मार्चमै चीन भ्रमणको निम्तो आइसकेको बताएकी छन्। यद्यपि, चीन र अमेरिकाबीच ताइवान मामिलालाई लिएर तनाव उत्पन्न भइरहेको बेला हुन लागेको मन्त्री खड्काको भ्रमणलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ। यता नेपालमा बिहीबारमात्र संसदीय निर्वाचनको मिति घोषणा गरिएको छ।
मन्त्री खड्काको चीन भ्रमणको कुरा बेइजिङले पनि शुक्रबारै पुष्टि गरेको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले मन्त्री खड्काको चीनको भ्रमणको विषयमा स्पष्ट पारेकी हुन्।