काठमाडौँ । मधेश प्रदेशको 'बेटी पढाऊ बेटी बचाऊ' कार्यक्रमका लागि किनेको साइकलमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बुधबार काठमाडौंस्थित विशेष अदालतमा प्रदेश सचिव यामप्रसाद भुसालसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
मधेश प्रदेशको 'बेटी पढाऊ बेटी बचाऊ' कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान सुरू गरेको थियो। आरोपितहरूले साइकल किनेर तीन महिनादेखि गोदाममा राखेको भन्दै उजुरी परेको थियो।
त्यसमा अनुसन्धान हुँदा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले साइकल खरिद प्रक्रिया गर्दादेखि भुक्तानी गर्दासम्म कर्मचारीहरू र साइकल आपूर्तिकर्ताले हिनामिना गरेको देखिएको अख्तियारको ठहर छ।
अख्तियारले प्रदेश सचिव यामप्रसाद भुसाल, सि.डि.ई.भगवान झा, सह-लेखापाल राजाराम मण्डल, भण्डाररजिन्सी शाखा प्रमुख अधिकृत बैठौराम स्वार्य महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास र एमरएस ओम सत्य सल प्रालि वीरगन्जका कार्यकारी निर्देशक रेनु अग्रवालविरूद्ध मुद्दा दायर गरेको हो।
त्यस्तै बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरूविरूद्ध पनि मुद्दा दायर भएको छ। समिति अध्यक्ष तथा उपसचिव दिलिपकुमार प्रधान र अधिकृत आठौं सुरेन्द्रकुमार कर्णविरूद्ध पनि मुद्दा दायर भएको छ।
सह-लेखापाल राजाराम मण्डल र सि.डि.ई. भगवान झा बोलपत्र समितिमा समेत भएको हुँदा उनीहरूविरूद्ध दुई वटा मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
प्रदेश सचिव यामप्रसाद भुसालले साइकल किन्दा सुरूदेखि नै सावजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशिका पालना नगरेको अख्तियारले जनाएको छ।