काठमाडौं। वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
नदी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार घरपरिवार प्रभावित बनेका छन्।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अहिले बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। बुधबार बिहान सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको थियो। जसका कारण क्रमशः सप्तरी र सुनसरीमा जोखिम पर्ने देखिएकाले तीन जिल्लामा सतर्कता अपनाइएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ डुबानमा परिसकेको छ। प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘नदीको धार पुरानो ठाउँमा फर्कने सम्भावना छ। मानवीय क्षति रोक्न निषेधित क्षेत्र घोषणा गरेर उद्धारको काम भइरहेको छ।’
पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।
सम्बन्धित समाचारः सप्तकोसीले उदयपुरमा कटान थाल्यो, सरकारले दियो यस्तो निर्देशन