काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन बमोजित सुविधा बाहेकका कर्मचारी वा पदाधिकारीको सवारीसाधन सुविधा र इन्धन नदिन निर्देशन दिएका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा देउवाले मन्त्री र सचिवहरूको बैठक बोलाएका थिए। त्यहाँ उनले इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेका भन्दै कानुनले तोकेका बाहेकका सरकारी कर्मचारीलाई सवारीसाधनको सुविधा हेरेर कटौती गर्न निर्देशन दिएका हुन्।
यस्तै उनले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबलटेबलमा हुने शासन अन्त्य गर्न पनि निर्देशन दिएका छन्।उनले जनताले सरकारबाट पाउने सुविधाहरू सहज र चुस्त रूपमा उपलब्ध गराउन निर्देशन दिएका हुन्।
त्यस्तै प्रधानमन्त्री देउवाले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्।
विद्युत खपत बढाउने, निर्यातलाई प्रवर्द्धन गर्ने लगायतका कामहरू सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि देउवाले निर्देशन दिए।