काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षमा ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।
गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने उक्त उद्योगविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले गत आर्थिक वर्ष २०७८/७९ मा देशभरका ४ हजार १२७ वटा उद्योगबाट उत्पादित नमूना परीक्षण गर्दा २२४ वटा नमूना खान नमिल्ने पाइएको जानकारी दिएको छ । यीमध्ये ११५ वटा उद्योगलाई भने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्धा नै दायर गरिएको हो।
खाद्यान्न एवं दलहन लगायतका वस्तु उत्पादन गर्ने ३० वटा उद्योगका विरुद्ध मुद्धा दायर भएको छ । यस्तै, दुध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका १९ वटा उद्योगविरुद्ध समेत मुद्दा दायर गरिएको विभागको भनाइ छ ।












