नवलपुर। लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।
सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेज नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको बताए। सोमबारसम्म त्रिवेणीको गण्डक ब्यारेजमा १८ वटा ढोकामात्रै खोलिएको थियो। नारायणी नदीको जलाधार क्षेत्रमा ठूलो पानी परिरहेको सूचना प्राप्त भएसँगै सोमबार रातिदेखि ब्यारेजका सबै ढोका खोल्न लगाइएको हो।
गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको निमित्त छ।
नारायणी नदीको देवघाटस्थित बाढीमापन केन्द्रकाअनुसार अहिले नारायणीमा पानीको सतह सात दशमलब एक मिटर रहेको छ। नारायणीमा पानीको सतह सात दशमलब तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तहको रुपमा लिइन्छ।
नारायणीमा पानीको सतह बढेसँगै नवलपुर तथा चितवनका नदी तटीय क्षेत्रका बस्तीहरु जोखिममा पर्ने गरेका छन्। नवलपुरको गैँडाकोटसहित पाँच वटा स्थानीय तह नारायणीको जोखिममा रहेका छन्।