गोरखा । गोरखा नगरपालिकामा सडक नै नभएको ठाउँमा पक्की पुल निर्माण गरिएको छ ।
गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा पक्की पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमबाट सो पुल निर्माण भएको हो ।
गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हँदा सो पुलको लागि बजेट विनियोजन गरेका थिए । तर सडक बिना पुल निर्माणको काम अघि बढाएको भन्दै स्थानीय उनी प्रति रुष्ट छन् ।
आवश्यक छलफल र समन्वय पनि नगरेको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरेका छन् ।
सडक नै नभएको ठाउँमा निर्माण भएको पुलमा मोटर कसरी आउँछ भन्नेमा स्थानीय आफैं अन्यौलमा छन् ।
५० मिटर लामो पुल ५ करोड ३९ लाख ८० हजार लागतमा बनेको हो। एचटीसी, गोसाइँकुण्ड, आइएस निर्माण सेवा जेभीले पूर्वाधार विकास कार्यालयसँग २०७७ जेठमा सम्झौता गरी काम सुरु गरेको सूचना अधिकारी अजय श्रेष्ठले जानकारी दिए। जेठ १२ मै सम्पन्न भइसक्नु पर्ने भए पनि हालसम्म भएको छैन।