दैलेख। दैलेखका एक जनाको नागरिकतामा ‘कुकुर’ नाम राखेर नागरिकता दिएको भेटिएको छ । आफ्नो नाम कविराम कामी लेख्न भन्दाभन्दै नागरिकता बनाउने टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएको भेटिएको हो ।
अहिले उनको त्यो नागरिकताले छोराछोरी र नातिनातिनासम्मलाई समस्या भएको हो । २०४६ जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले ‘कुकुर कामी’ लेखेको कारण कविराम ३३ वर्षयता गाउँसमाजमा हुने भेलामा जान समेत छोडिसकेका छन् ।
२०१७ पुस २५ गते जन्मेका कविराम कामीलाई तत्कालीन मेहेलतोली गाउँपञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा नागरिकता दिइएको हो । त्यसबेला मेहेलतोली गाउँपञ्चायत, अहिलेको सङ्घीय पुनर्संरचनाअघि मेहेलतोली गाविस थियो । नागरिकतामा मेहेलतोली गाउँपञ्चायत–६ लेखिएको ठाउँ सङ्घीय पुनर्संरचनापछि अहिले भगवतीमाई गाउँपालिका-३ नं. वडामा पर्दछ ।
नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कबिराम भुन्टो कामीका कान्छो छोरा हुन् । कविरामभन्दा अघि ६ जना दाजुहरु जन्मिएका थिए । तर जन्मनेबित्तिकै दाजुहरुको ज्यान गयो । सातौँ सन्तानको रुपमा जन्मिएका कविरामको नाम कुकुर राखे बाँच्न सक्छन् भन्ने पण्डितको सल्लाहमा बाँचून् भनेर राखिएको नाम थियो ‘कुकुर’ ।
राशीको नाम कविराम आएको थियो, बाँचून् भनेर ‘कुकुर’ नाम भन्ने गरिएका कान्छो छोरा संयोग नै होला बाँच्नुभयो । उहाँ त बाँच्नुभयो तर नागरिकतामा ‘कुकुर’ लेखिएकै कारण उहाँ आफैँ, श्रीमती, सात छोराछोरी १३ नातिनातिनीहरु फलानोको श्रीमती, फलानोको छोराछोरी वा फलानोको नातिनातिनी भन्न गाह्रो हुने गरेको छ ।
जेठी छोरी लक्ष्मीको जाजरकोटको जुनीचाँदेमा विवाह भएको छ । एक छोरा र तीन छोरी जन्माइसकेकी उहाँले बुबाको नाम उल्लेख गरी नागरिकता लिन अप्ठ्यारो परेर नागरिकता लिएकी छैनन् । माइली छोरी कल्पनाको भगवतीमाई गाउँपालिका–७ तौलुम विवाह भएर दुई छोरी छन्, उनले पनि यही समस्याले नागरिकता बनाएकी छैनन् ।
कान्छी छोरी रत्ना र माइलो छोरा सन्तरामले नागरिकता बनाएका छन् । तर बुबाको नाम ‘कुकुर’ लेखिएकै कारण त्यो नागरिकता देखाउन अप्ठ्यारोले गाउँका समूहमा बस्ने, सामुदायिक क्रियाकलापमा सहभागी वा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता आयआर्जनका कार्यक्रममा सहभागी हुन नगएको रत्नाले बताइन् ।
यता दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कविराम कामीको नागरिकतामा ‘कुकुर कामी’ लेखिएकै विषयमा के कसरी सुधार गर्न सकिन्छ र प्रक्रिया के हुनसक्छ मन्त्रालयमा सोधेर भन्न सकिने जानकारी दिए ।