धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीले ५० शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार धनगढीस्थित सुदूरपश्चिम प्रहरी आवासीय माध्यमिक विद्यालय परिसरमा रहेको ५० शैयाको अस्पताल उद्घाटन गरेका हुन्।
प्रहरी अस्पताल महाराजगन्ज अन्तर्गत संचालित शाखा अस्पतालबाट सर्वसाधारणले समेत सेवा लिन सक्ने अस्पतालका डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)आशा सिंहले बताइन् ।
प्रहरी अस्पताल संचालन भएको ३८ वर्षपछि धनगढीमा शाखा अस्पताल संचालनमा आएको हो । सिंहले आजबाट एक हप्तासम्म निस्शुलक शिविर संचालनका साथै औषधिसमेत निस्शुल्क वितरण गरिने बताइन् । उनले अस्पतालले अपरेसन सेवा र सुत्केरी सेवा समेत छिट्टै संचालनमा ल्याउने जानकारी दिइन् ।
प्रहरी महानिरीक्षक सिंहले अस्पताल सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै एआइजी सिंहको प्रशंसा गरे । उनले अस्पतालमा सम्पूर्ण सेवाग्राहीले उपलब्ध भएका सेवा सुविधा पाउने बताए । थप सेवा सुबिधा समेत वृद्धि गर्दै लैजाने उनको भनाइ छ । अस्पतालमा दुईजना विशेषज्ञ चिकित्सक छन् । सिंहले छिट्टै अन्य विशेषज्ञ चिकित्सकहरू समेत थप गर्दै लैजाने बताए ।