धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट रातारात बहुमतले पारित भएको छ।
प्रदेश सभामा साढे चार घण्टा छलफल गरेर बुधबारराति बहुमतले बजेट पारित गरिएको हो। सदनमा बजेटमाथिको छलफल बुधबार अपराह्नबाट सुरु गरिएको थियो। सत्तारुढ र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यको तीव्र असन्तुष्टिका बाबजुद बजेट पारित भएको छ। यसअघि, उनीहरुको असन्तुष्टिका कारण २८ दिनसम्म सदनसमेत चल्न सकेको थिएन।
बुधबार छलफल भएको बजेटमा सत्तारुढ नेकपा (एकीकृत समाजवादी), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्यहरुले त्रुटिपूर्ण रहेको भन्दै बजेटको आलोचना गरेका थिए।
उनीहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने जिकिर गरे पनि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बजेट सच्याउने प्रतिवद्धता जाहेर गरेपछि बजेटको पक्षमा मत दिएका थिए।
प्रतिपक्षी दल नेकपा (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले भने बजेटको विपक्षमा मत जाहेर गरे। बजेटको पक्षमा रहने प्रदेश सभा सदस्यहरुको सङ्ख्या बढी रहेकाले सभामुख अर्जुनबहादुर थापाले बहुमतले बजेट पास भएको घोषणा गरे।