काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश अर्धऔपनिवेश अवस्थामा रहेको बताएका छन्।
सोमबार आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै उनले देश अर्धऔपनिवेश अवस्थामा रहेको बताएका हुन्।
काठमाडौंमा फोहोरको समस्या समाधान गर्न समेत दलहरु चुकेको भन्दै उनले उद्योगभन्दा खोलेर जनतालाई रोजगारी दिने र विदेश पलायन हुनबाट रोक्ने कुरा भन्नका लागि मात्र भनिएको जस्तो भएको बताए।
उनले भने, ‘मुखले समाजवाद, गणतन्त्र भनेर मात्र नहुँदो रहेछ। पहिलाभन्दा अहिले आलोचना र विरोध गर्न पाएका छौं तर, आलोचना गरेर भोको पेट भर्दो रहेनछ। मुलुक आत्मनिर्भर छैन, अर्धऔपनिवेशिक अवस्थामा छ।’
देशमा जलश्रोत, कृषि क्षेत्रमा निकै सम्भावना भए पनि आएको परिवर्तनबाट नेपाली जनताको आधारभूत समस्या समाधान गर्न राजनीतिक दलहरु चुकेको उनको भनाइ छ।
उनले राजनीति गर्नेको जीवन मात्रै परिवर्तन भए त्यो मान्य नहुने बताउँदै शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले लिन सक्नुपर्ने बताए।