प्रतिनिधि सभाको आज शुक्रवारको बैठकले विभिन्न आठ वटा अध्यादेश स्वीकृति गरेको छ ।गृहमन्त्री बालकृष्ण खाणले बैठकमा 'नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, 'सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले औषधि तेस्रो संशोधन अध्यादेश २०७९' र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसैबीच प्रतिनिधि सभाको अर्को बैठक यही जेठ १० गते मङ्गलवार बेलुकी ६ बजे बस्नेछ ।