सुर्खेतको सिम्ता गाउँपालिकाबाहेक अन्य आठ स्थानीय तहमा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो।
प्रारम्भिक मतगणनामा र वीरेन्द्रनगरको प्रमुखमा एमालेकी मोहनमाया ढकालले ११४, उपप्रमुखमा एमालेकै नीलकण्ठ खनालले १११ मतले अग्रता लिएका छन्।
कांगे्रसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) की शान्ति ढकालले ८४ र राप्रपाका प्रमुख पदका उम्मेदवार मुकुन्दश्याम गिरीले ४४ मत प्राप्त गरेका छन्।
वीरेन्द्रनगरमा प्रमुख र उपप्रमुखमा कांगे्रस र माओवादीबीच तालमेल छ ।
बराहताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ईश्वरभक्त सुनार, पञ्चपुरी नगरपालिकाको प्रमुखमा कांगे्रसका लालवीर भण्डारी, चिंगाड गाउँपालिकाको अध्यक्षमा एमालेका बोधविक्रम जिसीले अग्रता लिएका छन्।
भेरीगङ्गा, लेकबेँसी र गुर्भाकोट नगरपालिका तथा चौकुने गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । त्यस्तै सिम्ता गाउँपालिकाको वडा नं १ भगवती मावि केन्द्रमा शुक्रबार निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि तनाव उत्पन्न हुँदा निर्वाचन स्थगित गरिएको थियो ।
तनहुँको आठ तहमा मतगणना जारी
स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँको आठ पालिकामा मतगणना सुरु गरिएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र पाँच पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको हो ।
बन्दीपुर गाउँपालिका, म्याग्दे, घिरिङ, भीमाद, ऋषिङ, देवघाट, आँबुखैरेनी गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिकामा मतगणना जारी छ । भानु नगर र व्यास नगरमा भने मतगणना सुरु हुनसकेको छैन । भानु नगरमा सर्वदलीय बैठक सम्पन्न भएर मतगणनाको तयारी थालिएको छ, भने व्यास नगरमा भने मतगणनामा अन्योल भएको छ ।
स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा ६४ प्रतिशत मत खसेको छ । जिल्लाका दश वटै पालिकाका २९७ मतदान केन्द्रमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । हालसम्म सार्वजनिक मतपरिणाम अनुसार बन्दीपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा तथा भीमाद नगरको प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ । आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । ऋषिङ, शुक्लागण्डकी र देवघाट गाउँपालिकाको भने मतपरिणाम सार्वजनिक भइसकेको छैन ।
झापाका पन्ध्रै पालिकामा मतगणना सुरु
जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएकोे छ । शिवतासाक्षी, अर्जुनधारा र मेचीनगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन् भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए।
उनका अनुसार कतिपय स्थानमा सर्वदलीय बैठक बस्न ढिला भएका कारण मतगणना ढिलो भएको हो । मतगणना सुरु भएका स्थानमध्ये दमक, शिवसताक्षी, विर्तामोड नगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ, भने, बुद्धशान्ति, गौरीगञ्ज, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले अगाडि रहेको छ ।
यसैगरी, हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता रहेको छ । जिल्लामा छ लाख ४६ हजार २३४ मतदातामध्ये चार लाख ५५ हजार ४७६ मतदाताले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ थियो । जिल्लामा ७० दशमलव ४८ मत खसेको छ ।