आज बिहान सात बजेदेखि सुरू भएको स्थानीय तह निर्वाचनमा दिउँसो साढे १ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार छुटफुट घटनाबाहेक मतदान शान्तिपूर्वक भइरहेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार दोलखा, रामेछाप, सर्लाही, पर्वत हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवाद भएकाले मतदान स्थगित भएको छ।
विवाद र झडप भएका स्थानः
सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको छ।
घटनापछि मतदान स्थगित भएको छ । केही व्यक्तिले मतपेटिका तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए।
त्यस्तै, धनकुटाको सहिदभूमि गाउँपालिकामा गठबन्धन दल र एमालेबीच विवाद भएको छ।
तीनवटा मतदान केन्द्रको मतदान स्थगित भएको प्रहरीले जनाएको छ।
त्यस्तै, पर्साको ठोरी, जगरनाथपुर र जिरा भवानी गाउँपालिकाका केही मतदान केन्द्रमा वर्षा र हावाहुरीका कारण मतदान स्थगित भएको छ।
अछामको साँफेबगर नगरपालिका–१३, बाब्लामा एमाले र गठबन्धनबीच झडप भएको छ।
एमालेका ३ कार्यकर्ता घाइते भएका छन् भने मतदान प्रक्रिया रोकिएको छ।
पर्साको छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा बुथ कब्जाको प्रयास भएको छ। त्यहाँ कांग्रेस र एमालेबीच झडप भएको छ। प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ।
मिर्जापुर, चारगाहा र जयमंगलापुरमा निर्वाचन रोकिएको छ।
बझाङमा पनि एमाले र गठबन्धन कार्यकर्ताबीच झडप भएको छ। जयपृथ्वी नगरपालिका–७ मा रहेको सुनिपिपल चौर मावि मतदानस्थलमा झडप भएको हो।
मतपेटिका फुटाएपछि नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।
तनावग्रस्त अवस्था भएपछि नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ।
यसैगरी जिल्लाको केदारस्युँ–४ जगन्नाथ मावि ’ख’ केन्द्रमा पनि झडप भएको छ। मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ।
सर्लाहीको बलरा नगरपालिका–३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साह पक्राउ परेका छन्।
साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि पक्राउ गरिएको हो।
• हुम्लाको अदानचुली, तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्र र चंखेली
• ओखलढुंगा चम्पादेवी गाउँपालिका–९ को मतदान केन्द्रमा
• रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि र खाँडादेवी गाउँपालिकास्थित वडा नम्बर १
• गोरखाको घ्याल्चोक
• सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्र र कौडन्या
• बाजुराको बुढीनन्दा नगरपालिका
• दैलेखको ठाटीकाँध
• काभ्रेको चौरी देउराली–६
• बाराको पचरौती– २
• सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्र
• बाराको देवताल गाउँपालिका
• ओखलढुङ्गाको चम्पादेवी
• दोलखाको वैतेश्वर गाउँपालिकास्थित कालिढुंगा र मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्र
• मोरङको लेटाङ