प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा सत्तागठबन्धनकी साझा उम्मेदवार रेनु दाहाललाई जिताउन आग्रह गरेका छन् ।
आज भएको चुनावी सभामा उनले चितवनको मेयरका रूपमा रेनुले पाँच वर्ष राम्रो काम गरेको भन्दै प्रशंसा गरे । साथै उनले चुनावी तालमेललाई लिएर कांग्रेसभित्र कुनै बखेडा नगर्न पनि निर्देशन दिए ।
देउवाले भने, ‘उहाँलाई पछि छोडिदिनुस्, हामीलाई सहयोग गर्न भनौंला । उहाँलाई यो पटक सहयोग गरेर हेर्नुपर्यो । त्यसैले उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो ।’
उनले एक्लै कुनै पनि पार्टीले बहुमत नल्याउने भएकोले गठबन्धन आवश्यक पर्ने बताए । साथै उनले चितवनमा गठबन्धनको विरोध हुनु भनेको गठबन्धन टुटाउने षड्यन्त्र भएको दाबी गरे ।
देउवाले भने, ‘रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ? गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नुहुँदैन । गठबन्धन टुट्यो भने कांग्रेसपनि खत्तम हुन्छ ।’
उनले रेनु एक्लै जित्न सक्ने उम्मेदवार समेत भएको दाबी गर्दै भरतपुरको विकासका लागि रेनुले अघि सारेका योजना हेर्दा जनतामा पपुलर देखिएको बताए ।
देउवाले रेनु दाहालको प्रशंसा गर्दै भरतपुरमा बेरुजु नभएको र मेयरले राम्रो काम गरेको बताए । उनले गल्लीगल्ली पिच गरिएकाले भरतपुरको जग्गा काठमाडौंको भन्दा महँगो भएको पनि बताए ।
देउवाले कांग्रेसका ८२ प्रतिशत कार्यकर्ता गठबन्धनको पक्षमा रहेको बताए ।