नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताएका छन् ।
आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उनले नेकपा (माओवादी केन्द्र) कांग्रेसको प्रतिस्पर्धी नभएको बताएका हुन् । उनले भने, ‘माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्यकता छ । पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला मैले गठबन्धनको प्रस्ताव गरेको हुँ ।’
वरिष्ठ नेता पौडेलले एमालेसहितका दलका गठबन्धन प्रतिक्रियावादी भएको आरोप लगाउँदै आफूहरूको गठबन्धनलाई प्रगतिशील भएको बताए ।
वरिष्ठ नेता पौडेलले गठबन्धनका कारण सङ्घीय र प्रदेशमा सरकार बनेको भन्दै स्थानीय तहमा पनि गठबन्धनले जित्नुपर्नेमा जोड दिए । उनले संसदीय निर्वाचनसम्म पनि गठबन्धन हुने दाबी पनि गरे ।
गठबन्धनको माध्यमबाट बिपीको सपना साकार हुने बताउँदै उनले भरतपुर महानगरलाई काँचुली फेर्ने गरी विकास गर्न गठबन्धन आवश्यक भएको उल्लेख गरे ।