विराटनगरको ऐतिहासिकतालाई जोगाई विकसित र दोस्रो ठूलो शहरको रुपमा विकास गर्ने महानगरका प्रमुख पदका उम्मदेवारहरुले बताएका छन् ।
विकल्प अल्टरनेटिभद्वारा आज यहाँ आयोजित विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारसँग गरिएको अन्तरक्रियामा उनिहरुले महानगरमा बालवालिकाका लागि पुस्तकालय, गुणस्तरीय सामुदायिक विद्यालय, अनुसन्धानका लागि बजेटको व्यवस्था, दुव्र्यसन मुक्त शहर निर्माणलगायत धारणा राखे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रल्हादप्रसाद साहले यस क्षेत्रमा औद्यागिक वातावरण तयार गरी रोजगारी सिर्जना गर्ने योजना सुनाए ।
यस्तै विवेकशिल साझा पार्टीका अमलेश कर्णले शिक्षित युवालालाई स्वरोजगार बनाउने, न्यून ब्याजदरमा ऋण उपलव्ध गराउनुका साथै विराट राजाको दरबार संरक्षण गरी धार्मिक पर्यटक आकर्षित गर्ने योजना अघि सारे ।
नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले महानगरलाई भ्रष्टाचार शून्य बनाउने प्रतिबद्धता व्यक्त गर्दै नगरवासीले तिरेको राजश्व नगरकै विकासमा खर्च गरिने धारणा राखे। नेकपा (एमाले) का उम्मेदवार सागर थापाले रुग्ण उद्योग सञ्चालनको वातावरण सिर्जना गरी रोजगार वृद्धि गर्नुका साथै महानगरलाई स्वास्थ्य उपचार केन्द्रको रुपमा विकसित गरिने बताए ।
स्वतन्त्र उम्मेदवार उमेश यादवले सुकुम्वासी मुक्त महानगर बनाउन उनीहरुका लागि घर निर्माण गर्ने, रोजगारी वृद्धि गर्न शीपमूलक तालिमको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।