आज मे ३ अर्थात् अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस । विश्व प्रेस स्वतन्त्रता दिवसमा युनेस्कोले ‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ विषयमा छलफल चलाइरहेको छ ।
विश्वमा मिडियासँग सरोकार राख्ने संस्था र व्यक्तिहरूले हिजो, आज र भोलि यही विषयमा केन्द्रित रहेर औपचारिक तथा अनौपचारिक रूपमा छलफल गर्ने युनेस्कोको विश्वास छ ।
नेपालमा पनि पत्रकार महासंघ तथा मिडियासँग आवद्ध अधिकारवादी अन्य संस्थाका पदाधिकारीहरू विभिन्न कार्यक्रममा सहभागी भएर यही विषयमा आफ्नो धारणा राखिरहेका छन् ।
‘जर्नलिजम अन्डर डिजिटल सिज’ नाराभित्र निहित आशय आम नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा डिजिटल युगको प्रवेश लाभकारी छ कि हानिकारक भन्ने नै देखिन्छ । नारामा युनेस्को तटस्थ हुन खोज्दाखोज्दै पनि ‘सिज’ अर्थात् ‘घेराबन्दी’ वा नियन्त्रण भन्ने शब्दले त्रासको भावना बढाएको कुरामा उसको चिन्ता अभिव्यक्त भएको छ ।
उसले डिजिटल युगमा पत्रकार कति सुरक्षित छन्, सूचनामा पहुँच र गोपनीयताको हक कति कारगार हुनसक्छ भन्ने पक्षमा पनि छलफल चलाइयोस् भन्ने चाहना राखेको छ ।