विचल्लीमा परेका कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्नी पीडित मुक्त कमैयाका सहयोग जुट्न थालेको छ ।
घर, सम्पत्ति, खाद्यान्न, लत्ता कपडा सबै जलेका पीडित मुक्त कमैयाहरुलाई छिमेकी गाउँका स्थानीयसहित सङ्घसंस्थाले सहयोग गर्न थालेका हुन । छटकपुर बसन्ता र रामपुरका गाउँवासीले गाउँबाट आफूले सकेका खाद्यान्न उठाएर सहयोग गरेका छन् ।
यसैगरी, मङ्गलबार कैलाली एकीकृत उत्थान कार्य सञ्जाल (किरण) नेपाल हसुलियाले पनि अग्नी पीडित मुक्त कमैयालाई खाद्यान्न लगायत दैनिक उपभोग्यका वस्तु सहयोग गरेको छ । सो संस्थाले ३८ बोरा चामल, तीन पेटी खाने तेल र ७५ केजी नून सहयोग गरेको हो । संस्थाका अध्यक्ष अमृत चौधरीले पीडितलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
खेतमा गहुँको नल जलाउनका लागि लगाइएको आगो आइतबार विपतपुरका मुक्त कमैयाको घरमा सल्केको थियो । आगलागीबाट ७१ घरमा क्षति भएको छ । ४४ घर पूर्ण रुपमा जलेर खरानी भएको छ भने बाँकी २७ घरमा आङ्शिक क्षति भएको कैलारी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, दुई वटा पावर टिलर, आठ वटा डल्लप, १३ वटा डिजल इञ्जिन, ४५ वटा सोलार, एक वटा मोटर पम्प, विभिन्न घरमा राखिएको गरेर नगद १२ लाख रुपियाँ जलेर नष्ट भएको छ । धेरै जसो मुक्त कमैया कमाएर नयाँ वर्षमामात्रै भारतबाट फर्केका थिए ।
यस्तै, थारु समुदायका महिलाले लगाउने पुर्खौली गहनाहरु जलेर नष्ट हुँदा सुन १२ तोला र अत्यधिक चाँदी जलेको छ । आगलागीबाट १२ वटा ठूला सुङ्गुर २५ पाठा र दुई वटा गोरु मरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
घरबारविहीन बनेका पीडितलाई रेडक्रसले ७५ वटा टेन्ट उपलब्ध गराएको र अन्य संघसंस्थाबाट पनि सहयोग जुटिरहेको कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।यसैगरी, मंगलबार नै फाया नेपालले प्रति परिवारलाई एक/एक वटा पुग्ने गरी किशोरी किट ७२ सेट, झुल ७२ थान, सोलार लाइट, सेनेटरी प्याड ४३२ प्याकेट सहयोग गरेको छ ।