ठेकेदारले बाटो कालोपत्रे नगरेका कारण राजधानीको फोहोर अनिश्चित कालका लागि रोकिएको छ । तीन दिनअघि अल्टिमेटम दिएका स्थानीयले माग पूरा नगरेको भन्दै पुनः फोहोर रोकेका हुन् ।
मुड्खु–तीनपिप्ले सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै करिब एक महिनादेखि आन्दोलनरत स्थानीयले काठमाडौं महानगरपालिकासँग पटकपटक वार्ता गर्दा पनि समस्या समाधन हुन नसककेको भन्दै आइतबारबाट अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेका छन् ।
स्थानीय संघर्ष समितिका संयोजक भवनाथ गजुरेलले माग पूरा नभएसम्म कुनै हालतमा फोहोर लैजान नदिने स्पष्ट पारे । स्थानीयले बिहीबार कामपा, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, शहरी विकास मन्त्रालय र बालाजु वृत्तमा तीनदिने अल्टिमेटमसहितको पत्र पठाएका थिए ।
त्यतिन्जेलसम्म पनि वार्ता गर्ने विषयमा कुनै चासो नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको संयोजक गजुरेलको भनाइ छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज पौडेलले स्थानीयसँग वार्ता गर्ने विषयमा खासै चासो नदेखाएको बताए ।
सरकारले गठन गरेको टाक्सफोर्सका संयोजक रहेका पौडेलले फोहोर व्यवस्थापन गर्ने विषयमा बैठक राखे । मुख्य भूमिका रहेका प्रमुख प्रशासकीय अधिकृतले चासो नदिएका कारण समस्या बढेको स्थानीयको आरोप छ । कामपाका कर्मचारीले पनि उहाँको कार्यशैलीप्रति प्रश्न उठाउन थालेका छन् ।
उता शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले रकम बार्गेनिङ गर्न फोहोर बन्द गराएको आरोप लगाएपछि थप आक्रोशित भएका स्थानीयले मन्त्रीले सार्वजनिक माफी माग्नुपर्ने उद्घोष गरेका छन् । केही दिनअघि सञ्चारमाध्यमसँग कुराकानी गर्नेक्रममा मन्त्री झाँक्रीले स्थानीयबासीले पैसा पाए फोहोर फ्याँक्न दिने, नपाए आन्दोलन गर्ने गरेको आक्षेप लगाइन् ।