ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरु ललिता निवास प्रकरणका मुख्य ठेकेदार (बिचौलीमा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ ।
उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
उनीहरूलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
यसअघिको सिआइबीको अनुसन्धानले उनीहरुसहित ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।