काठमाडौं– चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलङ्की सडक) विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्याक) निर्माण हुन सकेको छैन । चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर दुवैतर्फ एक÷एक लेनको सर्भिस ट्याक निर्माण गर्ने सहमति भएको थियो ।
सडक विभागले तीन वर्ष पहिले नै निर्माण शुरु गरेपनि अझै सम्पन्न भइसकेको छैन । निर्माण हुन बाँकी खण्डमा कतै भौगोलिक कठिनाइ त कतै त्यहाँ रहेका भौतिक संरचना हटाउन नसकिदा ‘सर्भिस ट्याक’ निर्माण गर्न नसकिएको हो ।
भौगोलिक कठिनाइ भएका स्थानमा काठमाडौँ चक्रपथ योजनाले सडकको साटो भ¥याङ बनाउने योजना गरेको छ । कतिपय स्थानमा भने समस्या हटाएर सडक नै बनाउने तयारी भएको छ ।
बालकुमारी पुलबाट कोटेश्वरतर्फ दुबैतर्फ ट्याक निर्माण हुन नसकेको योजना प्रमुख अमृतमणि रिमालले बताए । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरी दुबैतर्फ भूगोल अग्लो होचो रहेको छ । थोरै क्षेत्रमा जमिनको तह निकै फरक रहेकाले सडक बन्न नसकेको हो । सडकको दायाँतर्फ सडकको साटो भ¥याङ हालिने तयारी भइरहेको छ । बायाँतर्फ सडकको अधिकार क्षेत्रमा दुई घरका कारण सर्भिस ट्याक बन्न सकेको छैन ।
चक्रपथको अधिकार क्षेत्रबीच भागबाट दुवैतर्फ २५/२५ मिटर र अर्का छ÷छ मिटर ‘सिड बेल्ट’ हुन्छ । ‘सिड बेल्ट’ समेत ३१ मिटर चौडाइ भएपनि त्यही क्षेत्रमा घरहरु रहेका छन् । स्थानीयबासीले सहयोग गर्दा मात्रै सो स्थानमा सडक बन्न सक्ने उनको भनाइ छ । उनले भने, ‘ती घर नभत्काउँदासम्म सर्भिस ट्याक बनाउन सकिँदैन ।’
एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा रहेकाले त्यस स्थानमा पनि सडक बन्न सकेको छैन । तत्काल त्यसलाई नहटाए सडक बनाउन नसकिने प्रमुख रिमालले बताए । यातायात व्यवस्था कार्यालयदेखि एकान्तकुना चोकसम्म पनि भूगोलका कारण सडक निर्माण कठिन रहेको छ । सो स्थानमा डिजाइनमा नै त्रुटि रहेकाले सडक निर्माण गर्न नसकिएको उनले बताए ।