काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट गएराति नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा जबरालाई पक्राउ गरिएको हो। यद्यपि, उनीविरुद्ध परेको उजुरीमा के विषय समेटिएको छ भन्नेबारे प्रहरीले अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। त्यसको केही वर्षपछि २०७८ फागुन १ गते उनीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। महाभियोग प्रस्ताव अघि बढे पनि पारित हुन नसकेपछि जबरा सर्वोच्च अदालतमा पुनः फर्किन पाएनन्। अन्ततः निलम्बित अवस्थामै उनको प्रधानन्यायाधीशको कार्यकाल समाप्त भएको थियो।