दमौली– तनहुँको घिरिङ गाउँपालिकाको करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ ।
गाउँपालिका–१ को पुट्टार, अत्रौली, वैडी, भन्टार, कटहरे, हात्तीडाँडा, घिरिङ गाउँपालिका–२ को गजरकोट, काठेकोट, घिरिङ गाउँपालिका–४ को जिताकोट, गड्यौलीटारका करिब एक हजार घरमा विद्युतीकरण बाँकी रहेको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए ।
विद्युतीकरण अन्तर्गत कतै खम्बा गाडिएको र कतै तार विस्तारको काम भइरहेको छ । ‘दशैं अगाडि नै बत्ती बाल्न सकिन्छ कि भनेर काम तीव्र पारेका छौँ,’ उनले भने । गाउँपालिकाको ६१ लाखको बजेटबाट सो काम भइरहेको छ । गाउँपालिका–४ नयाँटार, गड्यौलीटार, जिताकोट, भाटडाँडा, लोहडाँडा, गलकोटमा मिटर बक्स ल्याउने तयारी गरिएको छ । अत्रौली, कटहरे, भन्टारमा पनि विद्युतीकरणको काम भइरहेको छ ।
गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्ज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताए । जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछि करिब १ हजार ४ सयभन्दा बढी घरमा बत्ती बालिसकिएको उनले जानकारी दिए ।
विद्युतीकरणका लागि गत वर्ष १ करोड विनियोजन गरिएको थियो भने यो वर्ष कोभिड–१९ का कारण १५ लाख विनियोजन गरिएको छ । ‘तर विद्युतीकरणका लागि पैसा अपुग भयो भने भइपरी खर्चबाट भए पनि मिलाउँछों,’ उनले भने । सो कार्यमा तनहुँ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणले सहयोग गरेको छ ।